कोइलावास नाकाको कथा : कुनै बेलाको व्यापारिक थलो अहिले एकादेशको कथा जस्तै

खबर कुरा
१७ मंसिर २०७८, शुक्रबार
                 

दाङ । दाङको कोइलावास नाका अहिले सुनसान छ । पूर्वपश्चिम राजमार्गको लमहीबाट ३३ दशमलव ४४ किलोमिटर दक्षिणमा पर्ने कोइलावास कुनै बेला ‘नसुत्ने शहरको रूपमा चिनिन्थ्यो । तर, अहिले मृत प्रायस् छ । राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर जस्तै बनेको छ ।

रुकुम, सल्यान, प्युठान, दाङलगायतका ठाउँबाट नुनदेखि सुनसम्म खरिद बिक्री गर्न व्यापारी र उपभोक्ताहरूका लागि कोइलावास नाका प्रमुख बजार थियो । तर, अहिले यही कोइलाबास नाकाका नागरिक सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता छ । टाउको दुख्दा सिटामोल लिनसमेत भारतमै पुग्नुपर्ने बाध्यता छ । यति मात्र हैन पानीका लागिसमेत भारत जानुपर्ने बाध्यता छ ।

गढवा गाउँपालिका( ८ मा पर्ने कोइलावासका नागरिकले अहिले धेरै दुःख पाएको बताउने गरेका छन । नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन उनीहरूका लागि । त्यहाँका जनता कोइलावासबाट करिब २४ किलोमिटरको दूरीमा रहेको भारतको तुल्सीपुरमा बजार जान बाध्य छन् ।

कोइलावास नाका पुग्दा अधिकांश घरहरू पुराना र भग्नावशेष अवस्थामा पुगिसकका छन । नयाँ निर्माण छैनन् । पक्की घरहरू समेत जीर्ण भएका छन् । धेरै घरहरू रूखले ढाकिएको अवस्थामा छन् । सशस्त्र सीमा सुरक्षा बल, नेपाल प्रहरी अहिले पनि कोइलावासमा छन् । त्यससँगै भन्सार कार्यालय कोइलावास पनि अस्तित्वमै छ । २०४० सालअघि दिनरात चहलपहल हुने कोइलावास नाका २०५१/०५२ सालदेखि ठप्पजस्तै भयो । व्यापारीहरू व्यापार गर्न दाङ देउखुरी, घोराही, लमहीतिर लागे । कुनै व्यापारी भारततर्फ लागे ।

मधुरी ठाकुर उहिलेको कोइलावास हेरेर अहिले अचम्ममा पर्ने गरेको बताउँछन । ‘कोइलाबास खोलामा तत्कालीन गाउँ पञ्चायतले फिताले नापेर बजार लगाउन दिन्थ्यो । तर, अहिले त्यही खोला बस्तीबाट ५० मिटर तल हुँदै बगेको छु,’ उनले भने, ‘त्यो बेलाको वर्णन गरेरै साध्य छैन ।’

२०२५ सालमा कोइलावास/देउखुरी/लमही कच्ची सडकले जोडिएको थियो । तर, कोइलावास पुग्न लमहीबाट डाँडाहरू कटेर जानुपर्थ्यो । कच्ची सडकले जोडिएको भए पनि व्यापारीहरू राँगा, घोडा, खच्चडमा व्यापार गर्न आउने गर्दथे । गढवा गाउँपालिका-८, कोइलावास नाकाबाहेक यही वडामा अरू पनि भारतसँग जोडिएका सीमा नाका छन । साविकको कोइलावास १ देखि ९ वटा वडा मिलेर गढवा वडा नं ८ बनेको हो । भौगोलिक हिसाबले पनि यो वडा अस्तव्यस्त बनेको छ । विकासका योजनाहरू एकै ठाउँमा राखेर समग्र वडाको विकास गर्न सम्भव छैन ।

कोइलावास ‘मृत शहर’ बन्नुको खास एउटै कारण यहाँको सडक हो । त्यहाँका मानिस सडककै कारण कोइलावास सुकेको बताउँछन । २०३०/०४० सालसम्म सडक नभएपछि व्यापारीहरू त्यहाँबाट अन्यत्र बसाइ सर्न थाले । त्यही अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका खुल्यो । त्यो बाटो नियमित चल्न थालेपछि व्यापारीहरू त्यही भन्सार प्रयोग गर्न थाले । विस्तारै कोइलावास शून्य हुँदै गयो । मानिसहरूको भिडभाड हुन छाडेपछि व्यापार चौपट भयो । केही उपाय नलागेका मात्र त्यहाँ बसे ।

कुनै बेला कोइलावासको जनसंख्या २० हजारभन्दा बढी थियो । तर, अहिले यहाँ मुस्किलले एक हजार ३०० मात्र जनसंख्या छ । २०७४ सालको स्थानीय निर्वाचनमा जम्मा मतदाता ३५० मात्र थिए । तीमध्ये पनि करिब ५०० जना नागरिकताविहीन छन । कोइलावास नाकाबाट दाङ लमही ३३ किलोमिटरको दूरीमा रहे पनि अहिलेको अवस्थामा पनि सवारीसाधनमा लमही पुग्न दुईदेखि तीन घण्टा लाग्छ । त्यही कारण यहाँका जनता भारतमा निर्भर छन् । भारतले नाकामा कुनै अवरोध गरे यहाँका जनता भोकै मर्नुको विकल्प छैन । कोइलावासमा पर्याप्त जमिनसमेत छैन । यहाँ हुने भनेको तोरी र गहुँ मात्र हो, त्यो पनि बीच पहाडमा हुने गर्छ । अरू सबै किनेर खानुपर्ने बाध्यता छ ।

कोइलावास सुक्नुमा त्यतिवेला लमही-कोइलावास सडक नबन्नु, यही अवस्थामा कृष्णनगर भन्सार खुल्नु एउटा संयोग मानेका छन् स्थानीयले । चहलपहल हुँदाको अवस्थामा बनेका संरचना चिन्न सक्ने अवस्थामा छैनन् । घरमै रूखहरू उम्रिएर ठूला भएका छन । केही घरका भग्नावशेष मात्र छन् ।

कुनै बेला नेपाल बैंक, नेपाल राष्ट्र बैंक, भन्सार, प्रहरी चौकी, सशस्त्र प्रहरी बल, इलाका प्रशासन कार्यालय रहेको कोइलावासमा अहिले प्रहरी चौकी, भन्सार र सशस्त्र प्रहरी बलको क्याम्प मात्र छन् । तत्कालीन गाउँ पञ्चायतको भवन नचिन्ने अवस्थामा छ । द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले बम पड्काएर ध्वस्त पारेको सशस्त्र प्रहरी बलको भवन पनि जीर्ण अवस्थामा छ । भएका साना उद्योगका संरचना, तोरी मिल भएका संरचना पनि अहिले जीर्ण अवस्थामा छन् । यो नाकामा व्यापार गर्ने बढी मात्रामा बनियाँ व्यापारीहरू थिए । ती व्यापारीहरू अहिले लमही, देउखुरी, दाङ तुल्सीपुर पुगेका छन् । उनीहरूले प्रयोग गरेका लालपुर्जासहितका भवन भने जीर्ण र दूरावस्थामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*