काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा व्यापक धाँधली भएको आरोप पुनः दोहोर्याएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्तापक्षबाट जसरी पनि चुनाव जित्नुपर्ने मनासायका साथ चुनावमा धाँधली गरेको आरोप लगाए ।
ओलीले चुनाव जित्नैका लागि धेरै ठाउँमा बुथ क्याप्चर गरिएको, हत्या हिंसा मच्चाइएको समेत आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।
धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे । ‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन,’ ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो ।’
प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप लगाउँदै उनले लोकतन्त्रको मूल्यमान्यतामा रहने एमालेलाई सकाउने गरी गठबन्धन लागेको आरोप लगाए । एमालेलाई हराउनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुले नै धाँधलीका लागि खुलेआम भाषण गरेको जिकिर गरे ।
ओलीले आफ्नो पार्टी लोकतन्त्रका लागि प्रतिवद्ध भएको दाबी गरे । आफ्नो पार्टी राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिएर आएको पार्टी भएको बताए ।



















प्रतिक्रिया