७ पुस २०८२, सोमबार | December 22, 2025

सभामुख घिमिरेको पहिलो सम्बोधन – स्वस्थ्य र नीतिगत बहसलाई प्रोत्साहित गर्छु



नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताएका छन् ।

सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै उहाँले संसद्मा राजनीतिक दलहरुका बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र भएको उल्लेख गरे ।

“संसद् प्रतिस्पर्धाको थलो पनि हो, संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हो”, उनले भने, “संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुगेको हुन्छ भने प्रतिपक्षी दल सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषबारे सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् ।”

सभामुख घिमिरेले प्रतिनिधिसभा सञ्चालनका लागि संविधान र प्रचलित कानुन एवम् प्रतिनिधिसभा नियमावलीले गरेका मार्गदर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहने बताए । उनले भने, “जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकका रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।”

सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता तथा क्रियाशीलता निर्भर रहने बताए । उनले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले यो पदको गरिमा र साखको अभिवृद्धि गर्नु आफ्नो संवैधानिक दायित्व हो भन्नेमा आफू सदैव सचेत र क्रियाशील रहने उल्लेख गरे ।

संविधान र कानुनका अधीनमा रही राजनीतिक दलहरुको आपसी सहमति र सहकार्य नै सभा सञ्चालनका मजबुत आधार भएको बताउँदै सभामुख घिमिरेले राजनीतिक दलहरुले सभा सञ्चालनका लागि निरन्तर सहयोग हुने अपेक्षा गरे । “नेपाली जनताको विकास र समृद्धिको व्यग्रतापूर्वकको चाहनालाई सफल बनाउने कार्यमा प्रतिनिधिसभा निरन्तर क्रियाशील रहनेछ भन्ने दृढ विश्वाससमेत व्यक्त गर्न चाहन्छु”, उनले भने ।

घिमिरेले सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे। लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानुनी शासन र समृद्धिको पक्षमा हालसम्म भएका आन्दोलनमा जीवन आहुति दिने सम्पूर्ण शहीदको उच्च सम्मानका साथ स्मरण गर्दै सभामुख घिमिरेले उनीहरुले देखाएको बाटोमा अविचलित क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

 

सम्वोधनको पुर्ण पाठःप्रतिनिधि सभाको बैठकमा सम्माननीय सभामुखको पहिलो सम्बोधन
माननीय सदस्यहरु
आजको कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनु भन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु ।

प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनु भएकोमा सम्पूर्ण माननीय सदस्यहरु प्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
लोकतन्त्र प्राप्ती, सामाजिक परिवर्तन, कानूनी शासन र समृद्धिको पक्षमा हालसम्म भएका आन्दोलनमा जीवन आहुती दिने सम्पूर्ण सहिदहरुको उच्च सम्मानका साथ स्मरण गर्दै उहाँहरुले देखाउनु भएको बाटोमा अविचलित क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु । 

नेपालको संविधानले अंगिकार गरेका मुलभूत मान्यताहरुको संरक्षण, सम्बद्र्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्य प्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन । नेपालको संविधानले अंगिकार गरेको जनतामा निहित सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधि सभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।

बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ । त्यसैले संसदमा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्दछु । सभामुखको पद तटस्थ, निश्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु । संसदमा राजनीतिक दलहरुको बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र नै हो । त्यसैले संसद प्रतिस्पर्धाको थलो पनि हो । संसदमा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जिवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्वन्धमा माननीय सदस्यहरुलाई विश्वास दिलाउन चाहन्छु । 
संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनता समक्ष पुगेको हुन्छ भने प्रतिपक्षी दलहरु सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् । प्रतिपक्षको आवाजको उचित सम्बोधन गर्नका लागि उसले संसदमा तदनुकूलको अवसर प्राप्त गर्नु पर्ने भएकोले बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्ष’को भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनु पर्दछ भन्ने कुरामा म सचेत छु । 

प्रतिनिधि सभा सञ्चालनका लागि संविधान र प्रचलित कानून एवम् प्रतिनिधि सभा नियमावलीले गरेका मार्ग दर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहनेछन् । यसका अतिरिक्त सभा सञ्चालनका लागि हामी आफैंले विकसित गरेका असल अभ्यास र लोकतान्त्रिक मुलुकका संसदमा विकसित भएका असल अभ्यासहरु समेत हाम्रा लागि प्रेरणादायी हुन सक्छन् । त्यस भन्दा पनि संविधान र कानूनका अधिनमा रही राजनीतिक दलहरुको आपसी सहमति र सहकार्य नै सभा सञ्चालनका मजबुत आधारहरु हुन् । नेपाली जनताले आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गर्ने उच्चतम थलो यही प्रतिनिधि सभा भएकोले जनताको त्यो अधिकारको प्रयोग गर्ने राजनीतिक दलहरुले सभा सञ्चालनका लागि निरन्तर सहयोग गर्नेछन् भन्ने पूर्ण अपेक्षाका साथ माननीय सदस्यहरु मार्फत सम्पूर्ण राजनीतिक दलहरुलाई आवश्यक सहयोगका लागि सादर अनुरोध गर्न चाहन्छु ।

यो प्रतिनिधि सभा राष्ट्रियता, जनजिविका, राष्ट्रिय हित र समृद्धिका पक्षमा निरन्तर क्रियाशील रहँदै कानून बनाउने आफ्नो मुलभूत कार्य प्रति सदैव क्रियाशील रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु । राजनीतिक दलहरुका बीचमा यदाकदा संसदमा हुने बहस र विमर्शको क्रममा उत्पन्न हुन सक्ने स्वभाविक  प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्मवाट समाधान गर्न म सदैव क्रियाशील रहनेछु । प्रतिनिधि सभामा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुलाई त्यस प्रयोजनका लागि सभामुखको कार्यकक्ष सदैव खुल्ला रहनेछ छ ।

लामो समयको आन्दोलन र बलिदानको प्रतिफल स्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र यो संविधानलाई क्रियाशील, सबल र जिवन्त बनाउँदै नेपाली जनताको विकास र समृद्धिको व्यग्रतापूर्वकको चाहनालाई सफलिभूत बनाउने कार्यमा यो प्रतिनिधि सभा निरन्तर क्रियाशील रहनेछ भन्ने दृढ विश्वास समेत व्यक्त गर्न चाहन्छु । सभा सञ्चालनका लागि सभामा उपस्थित सबै माननीय सदस्यहरुको रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि अनुरोध गर्न चाहन्छु ।
करिब पाँच दशकको राजनीतिक जीवनको क्रममा मैले जे जस्तो अनुभव र शिक्षा प्राप्त गरेको छु, त्यसैको आधारमा मलाई यो प्रतिनिधि सभाले सभामुखको पदमा निर्वाचित गरेको हो भन्ने मेरो विश्वास छ । सभामुखमा निर्वाचित भइसकेपछि मैले आफ्नो विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु मेरो कर्तव्य हुनेछ । त्यही प्रयोजनका लागि सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा (एमाले)सँगको सबै प्रकारको आवद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरि सकेको जानकारी गराउँछु । 

अन्त्यमा, प्रतिनिधि सभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यो प्रतिनिधि सभाको हालसम्म अध्यक्षता गर्नु हुने जेष्ठ सदस्य माननीय पशुपति शम्शेर जबरालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । 
 
देवराज घिमिरे
सभामुख
प्रतिनिधि सभा
२०७९।०९।०७

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ३४ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको