२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित



काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध शानदार जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा तीन खेलपछि प्लेइङ-११ मा पुनरागमन गरेका कुशल भुर्तेलले निर्णायक भूमिका खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्कासहित १२० रनको उत्कृष्ट शतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो दोस्रो शतक हो ।

यसअघि उनले सन् २०२३ मा लिग-२ अन्तर्गत नामिबियाविरुद्ध ११५ रन बनाउँदै पहिलो शतक प्रहार गरेका थिए ।

भुर्तेलले ओपनर आशिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको शतकीय साझेदारी गरेका थिए । आशिफले ७२ बलमा ८ चौकासहित ५८ रन बनाए । २६.३ ओभरमा आशिफ आउट भएपछि उक्त साझेदारी टुटेको थियो ।

नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका इशान पाण्डेले अविजित २० रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा ८ चौका र ३ छक्कासहित ८३ रन बनाए । उनले शेहन जयसूर्यासँग दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।

जयसूर्याले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए । २२.४ ओभरमा उनी आउट भएपछि शतकीय साझेदारी टुटेको थियो ।

मिलिन्द कुमार २८ रनमा अविजित रहे भने हर्मित सिंहले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी सर्वाधिक सफल बलर बने । उनले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले १-१ विकेट लिए ।

यस जितसँगै नेपालले शृंखलामा पहिलो जित दर्ता गरेको छ । लिग-२ मा नेपालको यो नवौँ जित हो । नेपालले २६ खेलमा ९ जित, १५ हार र २ खेल रद्द हुँदै २० अंक जोडेको छ ।

लगातार दोस्रो हार व्यहोरेको अमेरिका भने ३६ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम छ । अमेरिकाले २६ खेलमध्ये १८ जित र ८ हार व्यहोरेको छ । गत बिहीबार स्कटल्यान्डसँग अमेरिका डीएलएस प्रणालीका आधारमा २ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ३ : २९ बजे

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले

अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको