२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन



नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगन्ज सिधा उडान कही महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगन्ज् स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए ।

एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगन्ज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उनको भनाइ छ । पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगन्ज पोखरा उडान हुने गरेको थियो । सो उडान मङ्गलबारदेखि स्थगित भएको हो ।

नेपालगन्ज–पोखरा सिधा हवाई उडान स्थगित भएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन् । उडान रोकिएपछि अब यात्रुले फेरि सडकमार्गबाट कम्तीमा १४ घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगन्जको पहलमा सो सेवा सञ्चालनमा आएको थियो ।

नाट्टा नेपालगन्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नियमित तालिका अनुसारको उडान रोकेको आधिकारिक जानकारी भएको उल्लेख गर्दै उडान अनिश्चित बनेको जिकिर गरे । सरकारले गर्नुपर्ने काम निजी क्षेत्रको अग्रसरतामा भएको थियो तर सरकारले पहल लिन नसकेका कारण नै बन्द हुने अवस्थामा पुगेको उनले बताए । पैँतिस मिनेटमै पोखरा पुग्न सकिने सिधा उडान स्थगनभएसँगै यात्रु फेरि लामो र सकसपूर्ण सडक यात्रामा निर्भर हुन बाध्य भएका छन् । बुद्ध एयरले १८ सिट क्षमताकाबीच क्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा दिँदै आएको थियो ।

उडान सञ्चालनमा आउँदा पर्यटन क्षेत्रमा उल्लेखनीय उत्साह देखिएको थियो । पोखराबाट नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र राराजस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो भने भारतको लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई पोखरा आवतजावत गर्न सहज भएको थियो । उडान सुरु हुँदा न्यूनतम भाडा रु चार हजार ९३५ देखि अधिकतम रु सात हजार ६३५ सम्म निर्धारण गरिएको थियो । यात्रुको चाप बढ्दै गए दैनिक उडानसम्म विस्तार गर्ने योजना बनाइएको थियो । इन्धनको मूल्यवृद्धिले परेको भाडादर हेरफेरपछि यात्रुको चाप घटेकाले उडान स्थगित गर्नुपरेको बुद्धएयर नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  १ : ३० बजे

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई