बुटवल । बुटवलमा सम्पन्न अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ क्वालिफायर्समा ७६ जना राइडर सहभागी भएका छन् । तिलोत्तमा-५, मणिग्रामस्थित श्री गौराङ्ग इजीवे ट्रायल सेन्टरमा शनिबार आयोजित क्वालिफायर्सबाट १६० सीसी वर्गका तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन् ।
टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवल क्षेत्रका लागि आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा क्वालिफायर्स आयोजना गरेको हो ।
क्वालिफायर्समा बुटवल तथा आसपासका क्षेत्रका राइडर, मोटरस्पोर्ट्सप्रेमी तथा एमेच्योर रेसरहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीको संख्या बढेपछि ७६ जनामा दर्ता प्रक्रिया रोकिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा सहभागी राइडरलाई पूर्व एआरई जीपी नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन थापामगर र ट्र्याक तथा टार्मेक रेसिङकी चारपटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो । त्यसपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस आयोजना गरिएको थियो ।
रेसमा धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बने । अभिषेक पन्थी ३४.६२ सेकेन्डमा प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डमा द्वितीय उपविजेता बने ।
तीनै राइडरले एआरई जीपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन् । ग्रान्ड फिनालेमा उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्नेछन् ।
एआरई जीपीको ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा ५० भन्दा बढी देशका राइडर सहभागी हुने जनाइएको छ ।
जगदम्बा मोटर्सका अनुसार एआरई जीपीअन्तर्गत काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा क्षेत्रीय क्वालिफायर्स आयोजना हुँदैछन् । यस कार्यक्रममार्फत नयाँ तथा उदीयमान राइडरलाई प्रशिक्षणसहित प्रतिस्पर्धात्मक मोटरस्पोर्ट्समा अघि बढ्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया