काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपाली बलरको उपस्थिति बलियो देखिँदा ब्याटिङतर्फ विदेशी खेलाडीले अग्रता बनाएका छन् । लिग चरणको प्रदर्शनलाई हेर्दा नेपाली बलरले विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गरेका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका चार खेलाडीमध्ये तीन नेपाली छन् । ब्याटिङतर्फ भने सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशी ब्याटर पहिलो स्थानमा रहँदा नेपाली खेलाडी दोस्रो र तेस्रो स्थानमा छन् ।
बलिङमा नेपाली खेलाडी अगाडि
एनपिएलको लिग चरणमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजका कमलसिंह ऐरी र रिजन ढकाल, जनकपुर बोल्ट्सका राहुल यादव र काठमाण्डु गोर्खाजका जहानदाद खान संयुक्त रूपमा शीर्ष स्थानमा छन् । उनीहरूले समान १२ विकेट लिएका छन् ।
चितवनमा आबद्ध कमल ऐरीले छ खेलको पाँच इनिङमा पाँच दशमलव ७२ को इकोनोमी रेटमा १२ विकेट लिएका छन् । यस सिजनमा उनको उत्कृष्ट बलिङ २६ रन दिएर चार विकेट लिनु हो । यस्तै, चितवनमै आबद्ध रिजन ढकालले छ खेलमा १२ विकेट लिएका हुन् । यस संस्करणमा उनको उत्कृष्ट बलिङ प्रदर्शन २४ रन दिएर चार विकेट लिनु हो ।
जनकपुरका राहुल यादवले सात खेलमा १२ विकेट लिएका हुन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन ३१ रन दिएर चार विकेट लिनु रह्यो । यस्तै, काठमाण्डुमा आबद्ध पाकिस्तानका तीव्र गतिका बलर जहानदाद खानले सात खेलमा १२ विकेट हात पारे । उनले उत्कृष्ट प्रदर्शन गर्दै २३ रन दिएर चार विकेट लिएका थिए ।
ब्याटिङमा विदेशी खेलाडीको अग्रता
बलिङमा नेपाली खेलाडीको प्रभाव देखिए पनि ब्याटिङतर्फ भने विदेशी खेलाडीले अग्रता बनाएका छन् । लिग चरण सकिँदा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पोखरा एभेन्जर्समा आबद्ध क्यानडाका ब्याटर युवराज सामरा शीर्ष स्थानमा छन् । उनले चार खेलमा २९४ रन बनाएका छन् ।
सामराले चार इनिङमा ब्याटिङ गर्दै ७३ दशमलव ५० को औसत र १७९ दशमलव २६ को स्ट्राइक रेट कायम गरेका छन् । उनको व्यक्तिगत उच्च स्कोर १०२ रन हो । युवराजले प्रतियोगितामा एक शतक र दुई अर्धशतकीय पारी खेलेका छन् ।
नेपाली ब्याटरमा यस एनपिएलमा विराटनगर किङ्समा आबद्ध लोकेश बम सर्वाधिक सफल देखिएका छन् । उनी समग्र सूचीमा दोस्रो स्थानमा छन् । लोकेशले सात खेलमा २४२ रन बनाएका छन् । उनको उच्च स्कोर ८७ रन हो ।
लोकेशले यसपालि दुई अर्धशतकीय पारी खेलेका छन् । ३४ दशमलव ५७ को औसतमा रन बनाएका उनको स्ट्राइक रेट १४२ दशमलव ३५ रहेको छ ।
यस्तै, पोखरा एभेन्जर्सका कुशल भुर्तेल २३५ रनसहित तेस्रो स्थानमा छन् । उनले सात खेलमा ३३ दशमलव ५७ को औसत र १४८ दशमलव ७३ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनको व्यक्तिगत उच्च स्कोर ९९ रन हो । शतकको नजिक पुगेर चुकेका कुशलले प्रतियोगितामा दुई अर्धशतक पारी खेलेका छन् ।
यस्तै, काठमाण्डु गोर्खाजमा आबद्ध राशिद खानले सात खेलमा १८६ रन बनाएका छन् । उनको औसत ३७ दशमलव २० र स्ट्राइक रेट १४१ दशमलव ९८ रहेको छ । राशिदले यस संस्करणको एनपिएलमा दुई अर्धशतक पारी खेलेका छन् ।
यस्तै, चितवन राइनोजमा आबद्ध इङ्ल्याण्डका रवि बोपाराले पाँच खेलमा १८४ रन जोडेका छन् । कूल ४६ को औसतमा ब्याटिङ गरेका उनले एक अर्धशतकीय पारी खेलेका छन् । रविको उच्च स्कोर ५५ रन रहेको छ ।
शतकको प्रतीक्षामा नेपाली ब्याटर
लिग चरणको ब्याटिङ तथ्याङ्कमा विदेशी र नेपाली खेलाडीबीचको अन्तर शतकको मामिलामा पनि देखिएको छ । सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका युवराज सामराले शतक प्रहार गर्दा नेपाली ब्याटर भने उक्त उपलब्धिबाट टाढा छन् ।
लोकेश बम ८७ रन र कुशल भुर्तेल ९९ रनसम्म पुगेर पनि शतक बनाउन असफल भएका छन् । व्यक्तिगत रूपमा राम्रो सुरुआत भए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्नुपर्ने चुनौती नेपाली ब्याटरका अगाडि देखिएको छ ।
















प्रतिक्रिया