काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ । लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीबीचको खेल जित्ने टिम सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्न अर्को अवसर पाउनेछ ।
लुम्बिनीका लागि आजको खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसरसमेत हो । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यस संस्करणको लिग चरणको पहिलो भेटमा पनि सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो ।
ती दुवै खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनभित्रै समेटेको थियो । त्यसैले आजको खेलमा पनि सुदूरपश्चिमलाई पराजित गर्न सके लुम्बिनीले उक्त टोलीविरुद्ध लगातार तेस्रो जित निकाल्दै जितको ह्याट्रिक पूरा गर्नेछ ।
लिग चरणमा दुवै टोलीले पाँच–पाँच खेलमा जित निकालेका छन् । सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको छ भने लुम्बिनी एक खेलमा मात्रै पराजित भएको थियो । लुम्बिनीको एक खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका थिए । यही कारण लुम्बिनीले सुदूरपश्चिमभन्दा एक अंक बढी जोड्दै लिग चरणको शीर्ष स्थान हासिल गरेको हो ।
आजको प्रतिस्पर्धामा लुम्बिनी आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै फाइनल पुग्ने योजनामा हुनेछ भने सुदूरपश्चिम अघिल्ला हारको बदला लिँदै उपाधि यात्रालाई अघि बढाउन चाहन्छ ।
















प्रतिक्रिया