काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको हो ।
चितवनका ओपनर कामिल मिशाराले अविजित १२० रनको शतकीय पारी खेले । उनले ५३ बलको सामना गर्दै चार चौका र आठ छक्का प्रहार गरे । उनको यो पारी एनपीएल इतिहासकै एकै खेलमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर भएको दाबी गरिएको छ ।
मिशाराको शतक एनपीएलको तेस्रो संस्करणमा बनेको दोस्रो शतक हो । उनले आक्रामक ब्याटिङ गर्दै चितवनलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।
चितवनका लागि रवि बोपाराले पनि अर्धशतकीय पारी खेले । उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए ।
काठमाडौंका लागि कप्तान करण केसी र राशिद खानले समान दुई-दुई विकेट लिए ।
चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याउन काठमाडौं गोर्खाजले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।
















प्रतिक्रिया