विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस अहिले गम्भीर रूपमा कमजोर बनेको बताउँदै पार्टीभित्रको विभाजन अन्त्य गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
कोशी प्रदेशस्तरीय संस्थापनइतर समूहको विराटनगरमा आयोजित भेलालाई आइतबार सम्बोधन गर्दै उनले कांग्रेस व्यवहारतः दुई धारमा विभाजित भइसकेको उल्लेख गर्दै अबको मुख्य आवश्यकता पार्टी एकता भएको बताए।
लामो समयपछि विराटनगरस्थित कोइराला निवास पुगेको स्मरण गर्दै उनले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले जनताको हितका लागि राजनीति गरेको उल्लेख गरे। “बीपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी निर्माण गर्नुभएको हो। आज हामीले पनि आफूलाई प्रश्न गर्नुपर्छ-हामी कसका लागि राजनीति गर्दैछौं ?” उनले भने।
उनले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको महत्वपूर्ण चरण पार गरेको स्मरण गर्दै कांग्रेस सधैं परिवर्तनको पक्षमा उभिएको पार्टी भएको बताए। तर अहिले पार्टी नेतृत्व सही दिशामा अघि बढ्न नसकेको उनको टिप्पणी थियो।
पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले गगन थापाको नाम उल्लेख गर्दै प्रश्न गरे, “के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ? सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु समाधान होइन।”
डा. कोइरालाले परिवर्तन र आधुनिकीकरणको कुरा गर्नेहरूले सबैभन्दा पहिले आफ्नै सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए। “रूढिवादी सोचबाट बाहिर निस्कनुपर्छ। अरूलाई बदल्न खोज्नुभन्दा पहिले आफू बदलिनुपर्छ,” उनले भने।
कांग्रेसभित्रको आन्तरिक कलह र विभाजनलाई दुर्भाग्यपूर्ण घटनाका रूपमा चित्रण गर्दै उनले पार्टी फुट्नुमा अदालतको निर्णय पनि जिम्मेवार रहेको दाबी गरे। “आज कोइराला निवास पुगेँ, आँखाबाट आँसु आयो। कांग्रेस टुक्रिएको छ, टुक्राइएको हो। अदालतले टुक्रा बनायो, त्यो निर्णय गलत थियो,” उनले भने।
उनले पार्टी फुट्दा लोकतन्त्र र मुलुक दुवैलाई नकारात्मक असर परेको उल्लेख गर्दै त्यसको परिणामस्वरूप कांग्रेस खुम्चिएर दोस्रो पार्टीको अवस्थामा पुगेको बताए।
यद्यपि गाउँ–गाउँमा अझै पनि कांग्रेसप्रति जनविश्वास कायम रहेको उनको दाबी थियो। “गाउँमा कांग्रेस नै कांग्रेस देखिन्छ, तर एकता नहुँदा भोट आएन,” उनले भने, “संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रको उज्ज्वल भविष्यका लागि कांग्रेस एक ढिक्का हुनुपर्छ।”
डा। कोइरालाले पार्टीलाई पुनः एकताबद्ध बनाउने अभियानको नेतृत्व नेता डा। शेखर कोइरालाले गरिरहेको उल्लेख गर्दै त्यसमा सबै पक्षले साथ दिनुपर्ने धारणा व्यक्त गरे। “अब विभाजन होइन, एकता हाम्रो लक्ष्य हुनुपर्छ,” उनले भने।



















प्रतिक्रिया