नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने गरेका नेपालगन्जका उद्योगी व्यवसायीहरु यसपटक भने संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि फरक फरक दल निकट उद्योगी व्यवसायीहरु संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने भएका हुन् ।
निर्वाचनका लागि संयुक्त प्यानलको तर्फबाट आज सचिवालय सञ्चालनमा ल्याइएको छ । निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा भएको, दलगत प्यानल बनाएर निर्वाचन लड्दा व्यवसायीको हितमा काम गर्न नसकिएको तथा निर्वाचनका नाममा अनावश्यक खर्च भएको भन्दै व्यवसायीहरुले सर्वसम्मत निर्वाचनको प्रयास गर्दै संयुक्त उम्मेदवारी घोषणा गरेका थिए । तर केही असन्तुष्ट व्यवसायीले संयुक्त उम्मेदवारी विरुद्ध सिमित पदहरुमा उम्मेदवारी दर्ता गरेपछि उद्योग वाणिज्य संघको निर्वाचन हुने भएको हो ।
यही भदौं ६ गते हसने निर्वाचनका लागि उक्त प्यानलले नेपालगन्जको न्यूरोडमा सोमबार आफ्नो सचिवालय सञ्चालनमा ल्याएको हो । उक्त सचिवालयको नेपालगन्ज उद्योग वाणिज्य संघका वहालवाला अध्यक्ष टंकबहादुर धामीले औपचारिक रुपमा रिबन काटेर उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा संघका अध्यक्ष धामीसहित पुर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी, अध्यक्ष पदका उम्मेदवार चिरन्जिवी वलीलगायतले संघको गरिमा कायम गर्न यसपटक संयुक्त साझा उम्मेदवारी बनाइएको बताए । अध्यक्ष पदका उम्मेदवार वलीले उद्योगी, ब्यवसायीका समस्या र मुद्दालाई सम्बोधन गर्ने गरी अहिले नै टिपोट गर्ने काम गरिरहेको बताए ।
निर्वाचनको मुखमा चुनाव प्रचारका अलवा उद्योगी, ब्यवसायीका समस्यालाई नजिकबाट नियाल्ने काम गरेको उनले दाबी गरे । आफु उद्योग वाणिज्य संघमा बसेर महासचिव, प्रथम उपाध्यक्ष भएर काम गरिसकेकाले यसपटक नेतृत्वमा आएर उद्योगी, ब्यवसायीका पक्षमा काम गर्न खोजेको उनले बताए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, अब्दुल वाहिद मन्सुरी, संयुक्त प्यानलको अध्यक्ष पदका उम्मेदवार चिरञ्जिवी ओली, वरिष्ठ ब्यवसायी एवम् प्रजातान्त्रिक उद्योग ब्यवसायी संघका ललितकुमार रौनियार लगायतको उपस्थिती रहेको थियो ।



















प्रतिक्रिया