बुटवल । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि (टीभीएस नेपाल) ले आयोजना गर्दै आएको ‘अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी’ अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ राउन्ड बुटवलमा हुने भएको छ ।
क्वालिफायर शनिबार, असोज १७ गते अर्थात् अक्टोबर ३ मा तिलोत्तमा-५, मणिग्रामस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा आयोजना हुनेछ । सहभागी राइडरका लागि कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ भने सञ्चारकर्मी, अतिथि तथा कन्टेन्ट क्रिएटरका लागि बिहान ११ बजेदेखि कार्यक्रम खुला रहने आयोजकले जनाएको छ ।
एआरई जीपीअन्तर्गत क्वालिफायर राउन्ड आयोजना गर्ने बुटवल पहिलो सहर बनेको छ । बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा पनि क्वालिफायर राउन्ड सञ्चालन गरिनेछ ।
क्वालिफायरमा सहभागी राइडरलाई राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायत विषयमा सैद्धान्तिक प्रशिक्षण दिइनेछ । त्यसपछि प्रशिक्षकको निगरानीमा ट्र्याकमा विभिन्न ड्रिल अभ्यास गराइने आयोजकले जनाएको छ ।
प्रशिक्षणपछि १६० सीसी र २०० सीसी गरी दुई श्रेणीमा प्रतिस्पर्धात्मक रेस हुनेछ । प्रत्येक श्रेणीबाट उत्कृष्ट तीन राइडर काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा हुने एआरई जीपी ग्रान्ड फिनालेका लागि छनोट हुनेछन् ।
ग्रान्ड फिनालेमा थप ट्र्याक प्रशिक्षण र सैद्धान्तिक कक्षापछि दुवै श्रेणीमा रेस सञ्चालन हुनेछ । प्रत्येक श्रेणीका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय १६० सीसी र २०० सीसी रेसमा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुने राइडरले सम्बन्धित श्रेणीका थप अन्तर्राष्ट्रिय रेसमा सहभागी हुने अवसरसमेत पाउनेछन् । उनीहरूको यात्रा तथा आवास खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनी भारतले व्यहोर्ने आयोजकले जनाएको छ । फिनालेका विजेतालाई मोटोजीपी र मोटोसोलको खर्चसहितको भ्रमणसमेत उपलब्ध गराइनेछ ।
बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले एआरई जीपीको पहिलो क्वालिफायर बुटवलबाट सुरु हुनु स्थानीय राइडरका लागि गौरवको विषय भएको बताए ।
उनले लुम्बिनी क्षेत्रमा प्रतिभाशाली राइडर भए पनि सुरक्षित र व्यावसायिक वातावरणमा सिक्ने तथा प्रतिस्पर्धा गर्ने अवसर आवश्यक रहेको बताए । उनका अनुसार कार्यक्रमले स्थानीय राइडरलाई ट्र्याकबाट अन्तर्राष्ट्रिय सर्किटसम्म पुग्ने अवसर सिर्जना गर्नेछ ।
टीभीएसले सन् १९८२ देखि मोटरस्पोर्टमा सहभागिता जनाउँदै आएको छ । कम्पनीले इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप ११ पटक जितेको तथा सन् २०१५ मा डकार र्यालीमा सहभागी हुने पहिलो भारतीय मोटरसाइकल निर्माता बनेको आयोजकको भनाइ छ ।
इच्छुक राइडरले टीभीएस नेपालको आधिकारिक फेसबुक पेज ‘टीभीएस नेपाल’ वा इन्स्टाग्राम ‘@टीभीएस_नेपाल’ मा उपलब्ध क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन् । कार्यक्रमको आधिकारिक कफी पार्टनर काठमाडौं कफी रहेको छ ।
















प्रतिक्रिया