१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा



जलेश्वर । महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई भने निरन्तरता दिएका छन ।

विसं १७७५ मा स्थापित बालागुरु षडानन्दलेसमेत पढेको देशकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत विद्यालय मटिहानी, महोत्तरीमा अध्ययनरत बटुक (विद्यार्थी) निश्चल अधिकारी विगत चार वर्षदेखि दैनिक बिहान ४ बजे नै उठ्ने गर्छन् ।

अँध्यारो, वर्षा, गर्मी या जाडो कुनै समयको पनि प्रवाह नगरी निश्चल प्रतिदिन बिहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म गरी रुद्राभिषेक (भगवान् शिवको विशेष पूजा) का लागि फूल टिप्न फूलबारी पस्छन । अरू बटुक जाग्नुभन्दा पहिले निश्चलले फूल टिपेर गुरुकुलको शिव भवन (रुद्राभिषेक हुने कोठा) मा पुगिसक्छन ।

यस गुरुकुलमा अध्ययनरत उनी जस्तै अर्का बटुक खगेन्द्र उपाध्याय पनि एकाबिहानै उठेर आफ्ना नित्यकर्म गरी रुद्राभिषेकका लागि विशेष कक्ष (मन्दिर), शिवलिङ्ग तथा शिवलिङ्ग राखिएको भाँडाको सरसफाइमा जुट्ने गर्दछन ।

खगेन्द्रले दैनिकरुपमा भगवान् शिवको रुद्राभिषेक पूजामा प्रयोग भएका फूल, चन्दन, धुप, अगरबत्ती, गङ्गाजल र अन्य भोग ९प्रसाद० का अवशेष बटुलेर शिवलिङ्गलाई चोख्याउने र शिव भवनलाई दैनिकरूपमै पवित्र पार्ने काम गर्दछन ।

विगत चार वर्षदेखि निरन्तररुपमा रुद्राभिषेक हुँदै आएको यस गुरुकुलमा अध्ययनरत अर्का बटुक अजित मिश्रले रुद्राभिषेक पूजाका लागि बटुक बस्ने आसनी ओछ्याउने, सरसफाइ गराउने र पूजापश्चात् पुनःआसनी उचित स्थानमा राख्ने काम गर्दछन । उनीहरूजस्तै यस विद्यालयमा अध्ययनरत बटुक ब्रजभूषण झा, हरिमोहन झालगायत कैयौं बटुक नित्य हुने रुद्राभिषेक पूजाका लागि केही न केही जिम्मेवारीमा बसेर नित्यदिन भगवान् शिवको आराधना गर्दै आएका छन ।

गुरुकुलको परम्पराअनुसार पूजापाठबाटै दिनचर्या सुरू हुने यस विद्यालयका सबै छात्रछात्रा रुद्राभिषेक पूजाको तयारीपश्चात् शिव कक्षमा विराजवान शिवलिङ्गलाई गङ्गाजलले स्नान गराई, चन्दन, फूल, प्रसादलगायतका वस्तु सिँगारेर रुद्राभिषेक पूजा शुरु गर्ने गरेको विद्यालयका प्राधानाध्यापक ईश्वरी पौडेलले बताए । शिवलिङ्गका अगाडि दुई लहरमा बटुक बस्छन् र एकै स्वरमा शुरु गर्दछन् रुद्राभिषेक जप । यो जप गर्दा बटुकको मधुर कण्ठबाट निस्केको पवित्र ध्वनिले गुरुकुलसहित वरपरको वातावरण नै धार्मिक एवं पवत्र हुने गर्दछ ।

बटुकले बिहान नित्य मन्त्र पढ्न थालेपछि गुरुकुलसहित वरपर सबैतिरका व्यक्तिको ध्यानाकर्षण हुनुका साथै यहाँको वातावरण नै शिवभक्तिमा डुबेको महसुस हुन्छ । बिहान ५ः३० बजेदेखि शुरु हुने रुद्राभिषेक पूजा दैनिक दुईदेखि अढाइ घण्टासम्म चल्ने गर्दछ । सो अवधिभर यस गुरुकुलका सबै शिष्य, गुरु र गुरुकुलमा आएका पाहुनासमेत भगवान शिवको ध्यान र पूजामा समर्पित रहने गर्दछ ।

प्राचीनकालदेखिको गुरु, शिष्य परम्परा अहिले पनि यस विद्यालयमा कायम रहेको देख्न सकिन्छ भने यस विद्यालयमा अध्ययनरत बटुक विगत चार वर्षदेखि एक दिन पनि नबिराइ रुद्राभिषेक पूजा गर्दै आएको प्रधानाध्यापक पौडेल बताउँछन । यहाँ देशका विभिन्न भूभागबाट १५५ बटुक अध्ययनरत छन । यस आवासीय विद्यालयमा गरिब, दलित, अनाथ, टुहुरा र विभिन्न जातजातिका बटुकसमेत अध्ययनका लागि सँगै बसेका छन ।

यहाँ पहिलेदेखि संस्कृत शिक्षा मात्रै दिँदै आएकामा अहिले विद्यालयमा वेद, संस्कृत साहित्य, ज्योतिष, न्याय परम्परा, संस्कृत तथा नेपाली व्याकरण, कर्मकाण्ड, रुद्री एवं विज्ञान विषयमा शिक्षा दिने गरिएको प्रधानाध्यापक पौडेलले बताए। उनका अनुसार यहाँ हाल १२ जना शिक्षक छन ।

बालगुरु षडानन्दले यही गुरुकुलबाट संस्कृत शिक्षा प्राप्त गरेर भोजपुर जिल्लाको दिङ्गलामा छात्रछात्रालाई पनि वेद, पुराण, कर्मकाण्ड र संस्कृत शिक्षाका लागि विद्यालय सञ्चालन गरेका थिए । अहिलेको शिक्षा प्रणालीलाई आधुनिक भनिन्छ जहाँ गुरु शिष्यका बीचको सम्बन्ध पहिलेजस्तो छैन । यहाँ भने गुरुकुलकको पुरानो परम्परा बदलिएको छैन ।

गुठी संस्थानले यस विद्यालयमा अध्ययनरत ४४ जना बटुकका लागि छात्रवृत्ति पठाउने गर्दछ । सोही छात्रवृत्तिबाट यस विद्यालयमा अध्ययनरत १५५ जनालाई आवासीय पठनपाठनको जोहो गर्नुपरेको छ । नेपाल सरकारले यो ऐतिहासिक विद्यालयलाई नहेरेको प्राधानाध्यापक पौडेल दुखेसो पोख्छन ।

उनले यस गुरुकुलमा अध्ययनरत बटुकमध्ये ४४ जनाका लागि मात्रै आउने छात्रवृत्तिबाट सबै बटुकलाई दैनिक भोजनदेखि पठनपाठनका सबैथोक पूरा गर्नुपर्ने हुँदा बटुकहरुले अझै पनि प्राचीनकालमा जस्तै भिक्षाटन गरेर आफ्नो दैनिकी चलाउनुपर्ने बाध्यता रहेको बताउँछन ।

यस विद्यालयको भवन पनि प्राचीन शिक्षाजस्तै निकै पुरानो प्रविधि जस्तै चुन, सुर्की, सख्खरबाट निर्माण भएको छ । अघिको आकर्षक फूलबारीले यस विद्यालयको शोभा निकै बढाएको छ । दुःखको कुरा के छ भने भवन जीर्ण भइसकेकाले ठाउँठाउँमा चिरा परेको छ र वर्षात्मा चुहिने समस्या छ ।

एक साताअघि मात्रै यस गुरुकुलकको छात्रवासको एउटा कोठाको छत अचानक भत्किएको थियो । दिउँसोको समय भएकाले दुर्घटनाबाट बटुक जोगिएका थिए । यस गुरुकुलको भौतिक संरचना प्रचीन एवं पुरातात्विक नै भएकोले यसको संरक्षण हुनुपर्नेमा विज्ञको जोड छ ।

साथै गुरुकुल परम्परा धानिरहेको यस विद्यालयका लागि आवश्यक शैक्षिक सुधारका लागि पनि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने गुरुकुल परिवारको माग छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : १३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति