काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा एमालेको एघारौँ महाधिवेशनअघि पार्टी सचिवालयको अन्तिम बैठक आज केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै यो बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या र केन्द्रीय कमिटी विस्तारसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको यो अन्तिम सचिवालय बैठक हो ।
हालका १५ सदस्यीय पदाधिकारी संरचनालाई विस्तार गरी फेरि १९ सदस्यीय बनाउने ओलीको योजना रहेको स्रोतले जनाएको छ । उनले आफूतर्फ झुकेका नेताहरूलाई व्यवस्थापन गर्न नेतृत्व संरचना विस्तार गर्न खोजेको विश्लेषण गरिएको छ । साथै २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०० सदस्यीय बनाउने प्रस्ताव पनि अध्यक्ष ओलीले ल्याउन लागेका छन् ।
तर अध्यक्ष ओलीको प्रस्तावविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले कडा आपत्ति जनाउने संकेत देखिएको छ । यदि विधान संशोधनका प्रस्ताव पेश भए त्यसको प्रतिवाद गर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।
महाधिवेशन उद्घाटन समारोह मंसिर २७ गतेबाट सुरु हुनेछ, जसमा प्रस्तावित नेतृत्व संरचना र संगठनात्मक मोडेल तय हुने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया