बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको १५ औ महाधिवेशनको क्रममा स्थानीयस्तरमा नयाँ गुट देखा परेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको नयाँ नेतृत्व चयनका लागि कांग्रेस सभापति गगन थापाकै नाममा दुई गुट जन्मेर दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्।
बुधबार हुने अधिवेशनले उपमहानगर समितिको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रममा दुईवटा गुटका छुट्टाछुट्टै गुटका प्यानल चुनावी प्रतिस्पर्धामा निस्केका हुन् । वर्तमान उपसभापति ज्योति भण्डारी र कांग्रेस बुटवलका पुराना नेता जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उभिएका छन् ।
भण्डारी नेतृत्वको प्यानलबाट उपसभापतिमा गणेश घिमिरे, महिला उपसभापतिमा गंगा पन्थी, सचिवमा अर्जुन गिरी र सहसचिवमा नारायण खनाल उम्मेदवार बनेका छन्। त्यस्तै, मल्ल नेतृत्वको प्यानलबाट उपसभापतिमा तीर्थराज काफ्ले, महिला उपसभापतिमा करुणा मल्ल, सचिवमा रमेशप्रसाद अधिकारी र सहसचिवमा सूर्यप्रसाद काफ्ले उम्मेदवार रहेका छन्।
बुटवल उपमहानगर समितिको नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएपछि अधिवेशनलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ। दुवै पक्षले आफ्नो पक्षमा प्रतिनिधिको समर्थन जुटाउन आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाएका छन्।
लुम्बिनी प्रदेश कै अर्को उपमहानगरपालिका नेपालगन्जको नगर समितिको निर्वाचनमा पनि स्थानीय कांग्रेस नेता विनोख रिजाल र धनराज वर्माले प्यानल सहित चुनावी प्रतिस्पर्धाको तयारी गरेको सार्वजनिक भएको छ ।
















प्रतिक्रिया