काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि भइरहेको दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङ रोजेका हुन् । शनिबार हुने फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिएका छन् ।
आजको खेललाई दुई अनुभवी खेलाडी तथा कप्तान सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवनका रवि बोपाराबीचको रणनीतिक प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।
एनपीएलका तीन सिजनको प्रदर्शनलाई हेर्दा दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै सफल र निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका कप्तानमध्ये एक हुन् । उनको नेतृत्वमा सुदूरपश्चिमले पहिलो र दोस्रो दुवै सिजन फाइनल खेलेको थियो ।
जारी सिजनको लिग चरणमा पाँच जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि टोली दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो ।
जारी प्रतियोगितामा २०२ रन बनाइसकेका दीपेन्द्र आक्रामक ब्याटिङ, कसिलो बलिङ र उत्कृष्ट फिल्डिङका कारण टोलीका प्रमुख खेलाडी हुन् । उनी ब्याट र बल दुवैबाट खेलको नतिजा बदल्न सक्ने क्षमता राख्छन् । एनपीएलका तीन सिजनमा चितवनसँग भएका तीन खेलमध्ये दुईमा सुदूरपश्चिम विजयी भएकाले पनि टोलीको मनोबल उच्च रहेको छ ।
यता, अघिल्लो सिजन लिग चरणबाटै बाहिरिएको चितवनले यसपटक भने सुधारिएको प्रदर्शन गरेको छ । लिग चरणमा सात अंक जोड्दै चौथो स्थानमा रहेको चितवनले प्लेअफमा स्थान बनाएको थियो ।
बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गरेपछि चितवन उच्च मनोबलका साथ दोस्रो क्वालिफायरमा उत्रिएको छ ।
चितवनका अनुभवी खेलाडी रवि बोपाराले आफ्नो ५०० औँ टी-२० खेलमा ५३ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । जारी सिजनमा २३७ रन बनाइसकेका बोपारा परिस्थितिअनुसार ब्याटिङ गर्न सक्ने क्षमता र लामो टी-२० अनुभवका कारण चितवनका लागि महत्त्वपूर्ण खेलाडी हुन् ।
समग्र प्रदर्शन र हेड टु हेड नतिजाका आधारमा सुदूरपश्चिम बलियो देखिए पनि नकआउट चरणको दबाब सामना गर्ने बोपाराको अनुभव र कमिल मिश्राको शतकीय लय चितवनका लागि बलियो पक्ष बनेको छ । त्यसैले आजको खेल दुवै टोलीका लागि चुनौतीपूर्ण हुने देखिएको छ ।
दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टोली हो । पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यमा छ । चितवन भने पहिलोपटक फाइनल पुग्दै एनपीएल उपाधि जित्ने यात्रालाई अघि बढाउन चाहन्छ ।
















प्रतिक्रिया