काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियान मात्र चलाएर सम्भव नभएको निष्कर्षमा पुगेको र त्यसैले दल गठन गर्ने निर्णय लिएको स्पष्ट पारे ।
प्रसाईंका अनुसार आफू र आफ्ना अभियानका साथीहरूले नेपाल सुधारका लागि राजनीतिक शक्ति निर्माण गर्न दल गठन गर्ने अठोट गरेका छन्। उनले केही समयमै दलको नामसहित विस्तृत योजना सार्वजनिक गर्ने जानकारी दिए ।
“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो व्यक्तिगत जीवन वा परिवारभन्दा पनि नेपाल र नेपाली नै प्राथमिकतामा छन् । राजनीतिले बिगारेको व्यवस्थालाई सुधार गर्न हामी बाध्यतावश राजनीतिमा प्रवेश गरेका हौं,” प्रसाईंले पत्रकार सम्मेलनमा भने ।
उनले अघिल्ला गतिविधिका कारण विभिन्न अवरोधहरू खेप्नु परेको स्मरण गर्दै, “अभियान मात्रै चलाउँदा पनि कोठामा ताला लगाइयो, थुप्रै अवरोध गरियो । त्यसैले अब नयाँ बाटो रोजेको हुँ,” भने ।
प्रसाईंले आफूलाई अघिल्लो समयमा ७८ दिनसम्म हिरासतमा राखिएको अनुभव सुनाउँदै नेपाल र नेपालीका लागि संघर्ष जारी रहने उल्लेख गरे । “मलाई किन्न खोजियो, इन्काउन्टरमा मार्न खोजियो । तर म नभागेको भए आज म बाँच्दैन थिएँ । नेपालको जेल सबै देखिसकेको छु । एक दिन सर्वहारा भुइँमान्छेको दिन आउनेछ,” उनले चुनौतीपूर्ण शैलीमा भने ।
उनले राजनीतिक दल गठनसँगै नेपालमा परिवर्तन ल्याउने आफ्नो अभियान झन् सशक्त हुने दाबी गरे ।



















प्रतिक्रिया