काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अघि बढ्न सके अहिलेको राजनीतिक धक्काबाट पुनः उठेर पहिलेभन्दा अगाडि बढ्न सकिने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटा निर्वाचनको हारजितबाट निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
मुलुकको समृद्धि र विकासको उद्देश्य बोकेर अघि बढेको पार्टीलाई विभिन्न अवरोध आए पनि फराकिलो सोचका साथ अघि बढ्न सके पुनः स्थापित हुन सकिने उनको भनाइ थियो ।
‘मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का लाग्न सक्छ । तर, पार्टीलाई बलियो बनाएर अघि बढ्यौँ भने अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्छौँ,’ ओलीले भने ।
उनले एमालेको विकास अभियानलाई रोक्ने प्रयास भइरहेको धारणा राख्दै सानातिना विषयमा अल्झिनुभन्दा पार्टीलाई थप सुदृढ बनाएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे । गत फागुन २१ गतेको निर्वाचनमा व्यहोरेको पराजयलाई संकेत गर्दै उनले धक्का लागेपछि पनि पुनः उठेर अघि बढ्न सकिने विश्वास व्यक्त गरे ।
समारोहमा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आचरण, व्यवहार र कार्यशैली सुधार गर्न पनि निर्देशन दिए । एमालेका नेता भएपछि समाजमा आदर्श र अनुकरणीय व्यक्तिका रूपमा स्थापित हुनुपर्ने उनको भनाइ थियो ।
‘नेकपा ९एमाले०को आचरण पवित्र र शुद्ध हुनुपर्छ । बानी राम्रो हुनुपर्छ र नमुनायोग्य हुनुपर्छ । मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन, रिसाउने बानी घरको खोपामा राख्नुस्,’ ओलीले भने ।
उनले गलत आनीबानी र आचरण त्यागेर कम्युनिष्ट शालीनता, विनम्रता र जिम्मेवारीबोध प्रदर्शन गर्न नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टीले दिएको जिम्मेवारी पूर्ण सामर्थ्यका साथ निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।
अध्यक्ष ओलीले अहिलेको समय सूचना प्रविधि र ‘आईटी वार’को युग भएकाले नेता–कार्यकर्ताले आधुनिक प्रविधि तथा समसामयिक परिवेशलाई बुझेर आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए ।
एमाले केन्द्रीय कमिटी बैठकले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । शुक्रबार अध्यक्ष ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ लिने केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, मोहम्मद इस्तियाक राई, कौशिला खत्री र सुरेन्द्र उदास छन् ।
त्यस्तै, दीपक खम्बू, जय गोदे, धर्मराज निरौला, प्रदीप यादव, अब्दुल हुसेन, डीबी कार्की, भवानी खापुङ, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्टले पनि शपथ लिएका छन् ।
















प्रतिक्रिया